युवा उद्यमीलाई मेन्टरशिप र बजार पहुँच दिलाउँदै BIS 2026 सम्पन्न

hitkhabar.com


काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६’ को समापन समारोह काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। स्टार्टअप उद्यमीहरूको क्षमता अभिवृद्धि, नवीन सोचको विकास, व्यवसायिक मोडल निर्माण, मेन्टरशिप तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले नेपालको स्टार्टअप इकोसिस्टम सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

कार्यक्रममा कोशी र बागमती प्रदेशका स्टार्टअप टोलीहरूले आफ्ना नवीन सोच, प्रविधिमा आधारित समाधान तथा व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले अनुभवी विज्ञ तथा सफल व्यवसायीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यवसाय विस्तार, बजार पहुँच र नेटवर्किङका अवसर प्राप्त गरेका थिए। कार्यक्रमको सञ्चालन तथा समन्वय रचना खरेलले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले स्टार्टअप यात्रा निरन्तर सिकाइ, अनुसन्धान र नवप्रवर्तनसँग जोडिएको प्रक्रिया भएको बताउनुभयो। उहाँले उद्यमीहरूलाई समाजमा सकारात्मक प्रभाव पार्ने नवीन विचार विकास गर्न, अनुसन्धानमा आधारित भएर अगाडि बढ्न तथा सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ हेमपाल श्रेष्ठले सफल स्टार्टअपका लागि ग्राहकको आवश्यकता पहिचान, स्पष्ट लक्ष्य र प्रभावकारी व्यवसायिक मोडल आवश्यक रहेको बताउनुभयो। यस्तै प्रतीक इनोभेसन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जतिन भुसालले उद्यमशीलतालाई समस्या समाधान र दीर्घकालीन सोचसँग जोड्नुपर्ने धारणा राख्नुभयो।

टिङ टिङका सीबीओ सुजन प्रजापतिले नेपाल स्टार्टअपका लागि सम्भावनायुक्त बजार रहेको उल्लेख गर्दै जोखिम लिन, असफलताबाट सिक्न र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कम्पनी दर्ताभन्दा पनि स्रोत, लगानी र आवश्यक सहयोग प्राप्त गर्नु अझै चुनौतीपूर्ण रहेको बताउनुभयो।

कार्यक्रममा प्रशान्त फुयाँल, अस्मी कार्की, राज विक्रम महर्जन, भुषण राज गिरी, विकास कर्ण, मनोज कुमार घले र सन्तोष पौडेलले मेन्टरको भूमिका निर्वाह गर्नुभएको थियो।

अन्तिम चरणको प्रतिस्पर्धामा कोशी प्रदेशबाट ‘लोकल बजार’, ‘मेडिक्याब टेक्नोलोजिज’, ‘माइन्ड ब्रिज’, ‘सफारी यात्री’ र ‘भोल्ट भी’ उत्कृष्ट पाँचमा पर्न सफल भएका थिए। तीमध्ये ‘सफारी यात्री’ प्रदेश विजेता घोषित हुँदै प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो।

त्यसैगरी बागमती प्रदेशबाट ‘क्लाउड साथी’, ‘म्याच२४ अर्बिटल्स’, ‘रिटेल साथी’, ‘सम्पर्क डिजिटल लोयल्टी’ र ‘द भिजनरी नेपाल’ उत्कृष्ट पाँचमा छनोट भएका थिए। ‘सम्पर्क डिजिटल लोयल्टी’ बागमती प्रदेशको विजेता घोषित हुँदै प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो।

कार्यक्रममा उत्कृष्ट पाँचभित्र पर्न सफल सबै स्टार्टअप टोलीलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो भने मेन्टर, वक्ता तथा सहयोगी व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

सरकारी निकायका प्रतिनिधि, प्रविधि विज्ञ, शिक्षाविद्, उद्यमी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले उद्यमी, निजी क्षेत्र, सरकारी निकाय तथा प्रविधि क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गर्दै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया