उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा

hitkhabar.com


काठमाडौं । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्दै ६ वटा रुटमा ३० वटा बस सञ्चालन सुरु गरिएको छ।

काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व वहन गर्ने गरी उपत्यकाका ९ वटा स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन्।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहहरू साझा यातायातसँग सहकार्यमा जोडिएका हुन्।

यसका लागि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका सहभागी भएका छन्।

स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारीपत्रमा साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ।

साझा यातायातको कार्यालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। त्यसलगत्तै ६ वटा रुटमा ३० वटा बस सञ्चालन सुरु गरिएको हो।

रात्रिकालीन सार्वजनिक यातायात सेवालाई आवश्यकताका आधारमा थप विस्तार गर्दै लैजाने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया