काठमाडौं । आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हिमाली र पहाडी भू-भागका साथै मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।