भोटेकोशी बाढी : सम्पर्कविहीनको तथ्यांक यकिन गर्न ७५ जिल्लाका अधिकारीसँग छलफल

hitkhabar.com


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको तथ्यांक यकिन गर्न ७५ वटै जिल्लाका सम्बन्धित अधिकारीसँग छलफल गरेको छ।

प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा भएको भर्चुअल छलफलमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका कर्मचारी सहभागी थिए।

छलफलमा बाढीपछि सम्पर्कविहीन व्यक्तिहरूको नामावलीमा देखिएको दोहोरो विवरण पहिचान गरी वास्तविक तथ्यांक कायम गर्ने विषयमा विशेष जोड दिइएको थियो।

प्राधिकरणका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको नाम सम्बन्धित जिल्लाका साथै बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा समेत आफन्तहरूले टिपाएको पाइएको छ। यसका कारण एउटै व्यक्तिको नाम विभिन्न जिल्लाको विवरणमा दोहोरिएको हुन सक्ने भएकाले त्यसलाई रुजु गर्नुपर्ने देखिएको हो।

दोहोरो विवरण यकिन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले आ–आफ्नो जिल्लामा विवरण रुजु गरी ‘सेतु’ एपमा प्रविष्ट गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ।

यस प्रक्रियाबाट सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक संख्या तथा पहिचान स्पष्ट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया