नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा शुभकामना

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना), म्हः पूजा तथा गोवर्धन पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै यी मौलिक चाडपर्वले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याउने विश्वास व्यक्त गरेका छन्।

उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

त्यस्तै, नेवार समुदायमा मनाइने म्हः पूजाको महत्त्वबारे चर्चा गर्दै उनले आफ्नै शरीर र शरीरभित्रको चेतनालाई साक्षी राखेर गरिने यस पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन्। यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल, पुर्ख्यौली संस्कृतिको संरक्षण तथा जातीय एकतालाई अझ प्रगाढ बनाउने उनको भनाइ छ।

गोवर्धन पूजा तथा हली तिहारको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै कृषि कर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराको महत्त्व स्मरण गरेका छन्।

उनले गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गरी गोवर्धन पूजा र हली तिहार मनाइने उल्लेख गरेका छन्।

त्यसैगरी, भैलो र देउसीका माध्यमबाट छरछिमेकमा आपसी आत्मीयता र सद्भाव बढ्ने बताउँदै उनले यस्ता मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया