जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्यलाई राख्न मन्त्री मेहताको जोड

hitkhabar.com


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य सङ्कटका रूपमा बुझ्नुपर्ने बताउनुभएको छ। उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि तयार गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ययोजनाको केन्द्रमा स्वास्थ्य क्षेत्रलाई राख्नुपर्नेमा जोड दिनुभएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपालको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र आईपीएएससँगको सहकार्यमा टर्कीको अन्ताल्यास्थित नेपाल पेभिलियनमा आयोजना गरेको ‘स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमा : विश्वव्यापी परिप्रेक्ष्य’ विषयक विशेष छलफलको अध्यक्षता गर्दै मन्त्री मेहताले यस्तो धारणा राख्नुभएको हो।

छलफलमा मन्त्री मेहताले बाढी, पहिरो, अत्यधिक गर्मी, रोगको बदलिँदो स्वरूप, पानी तथा खाद्य असुरक्षालगायत जलवायुजन्य जोखिमले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्नुभयो। यस्ता विपद्का कारण स्वास्थ्य संस्थाका पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति प्रणाली र अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने उहाँको भनाइ थियो।

नेपालको अनुभव प्रस्तुत गर्दै उहाँले रसुवामा गएको विनाशकारी बाढीले जनजीवन, जीविकोपार्जन र अत्यावश्यक स्वास्थ्य सेवामा पहुँचमा पारेको प्रभावलाई जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।

मन्त्री मेहताले नेपालजस्ता जलवायु जोखिममा रहेका तथा अल्पविकसित मुलुकहरूका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज, पूर्वानुमानयोग्य र अनुदानमा आधारित पहुँच सुनिश्चित गर्न विकसित राष्ट्रहरूलाई आग्रह गर्नुभयो। साथै, स्वास्थ्यसम्बन्धी सूचकहरूलाई जलवायु अनुकूलनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ययोजना, जलवायु वित्त र नीतिगत प्रतिबद्धतामा समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

जलवायु परिवर्तनका कारण हुने मृत्यु, रोग, मानसिक स्वास्थ्यमा पर्ने असर, स्वास्थ्य सेवामा अवरोध तथा स्वास्थ्य पूर्वाधारमा हुने क्षतिको आर्थिक र गैरआर्थिक प्रभावको व्यवस्थित मूल्याङ्कन गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।

छलफलमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. ज्ञानेन्द्र घोगल, पाकिस्तानस्थित दस्तक फाउन्डेसनकी संस्थापक तथा कार्यकारी निर्देशक हिरा अमजद र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पिटर्स याहियाले जलवायु परिवर्तन र स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे धारणा राख्नुभएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिम सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य, प्रभावकारी नीतिगत प्रतिबद्धता र स्वास्थ्य प्रणालीको उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापन गर्दै मन्त्री मेहताले स्वस्थ नागरिकबिना उत्थानशील भविष्य निर्माण सम्भव नहुने र स्वस्थ नागरिकका लागि उत्थानशील पृथ्वी आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनविरुद्धका हरेक प्रयासमा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिनुभयो।

प्रतिक्रिया