काठमाडौं । छिमेकी राष्ट्र भारतले आज सोमबार ७७ औँ गणतन्त्र दिवस मनाइरहेको छ। सन् १९५० को यही दिन भारतमा संविधान कार्यान्वयनमा आएको थियो, जसले देशलाई पूर्ण गणतन्त्रको रूपमा स्थापित गरेको हो।
गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीमा विशेष समारोह आयोजना हुँदैछ। समारोहमा भारतको विकास यात्रासँगै सांस्कृतिक विविधता र सैन्य क्षमताको झल्को देखाइनेछ। परेडमा हालै गठन भएका सैन्य इकाइ तथा विभिन्न रक्षा प्रणालीका मोडलहरू प्रस्तुत गरिने जनाइएको छ।
यस वर्षको समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमिसनकी अध्यक्ष उर्सुला वान डेर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। कार्यक्रमको औपचारिक नेतृत्व भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन्।
भारतीय समयअनुसार बिहान १०ः३० बजे सुरु हुने समारोह करिब ९० मिनेटसम्म चल्ने अपेक्षा गरिएको छ। परेड सुरु हुनु अघि सयौँ सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ भन्ने भाव प्रस्तुत हुने सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नेछन्।
यसै अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत देशवासीलाई शुभकामना दिएका छन्। उनले गणतन्त्र दिवसले नागरिकमा नयाँ ऊर्जा र उत्साह थपोस् भन्ने कामना गर्दै विकसित भारतको लक्ष्यप्रति प्रतिबद्धता अझ बलियो बनोस् भन्ने सन्देश व्यक्त गरेका छन्।