काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आचारसंहिता अनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ।
उक्त व्यवस्थाअनुसार राजनीतिक दल र उम्मेदवारहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न सक्नेछन्। यस अवधिमा उम्मेदवारहरूले आचारसंहिताको पूर्ण पालना गर्दै मतदातासमक्ष आफ्नो एजेन्डा प्रस्तुत गर्न र मत माग्न पाउनेछन्।
निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र मर्यादालाई उच्च प्राथमिकतामा राखेर आचारसंहिता कार्यान्वयनका लागि विभिन्न अनुगमन संयन्त्र परिचालन गरेको जनाएको छ। आयोगले आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।
आयोगका अनुसार आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक छलफलपछि तयार गरिएको हो। सबै दलहरूले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी, तोकिएको मापदण्ड पूरा गरी पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गरेर पनि प्रचार–प्रसार गर्न सकिनेछ। आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापन तथा अन्य खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचन अवधिमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध दुष्प्रचार, मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा आयोगले जोड दिएको छ।