काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन PP-26 मा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुग्नुभएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दोहामा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनुभएको छ।
कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री र सञ्चार नियामक प्राधिकरणद्वारा आयोजित उक्त बैठकमा महासम्मेलनका प्रमुख कार्यसूची, साझा दूरसञ्चार सरोकार तथा दोहा घोषणापत्रका विषयमा विचार आदानप्रदान भएको थियो। मन्त्री तिमिल्सिनाले प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकमा समेत सहभागिता जनाउनुभएको थियो।
यसैक्रममा मन्त्री तिमिल्सिनाले दोहास्थित नेपाली राजदूतावासको भ्रमण गरी कतारमा रहेका नेपाली नागरिकलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ। उहाँले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्नसमेत निर्देशन दिनुभएको हो।
मन्त्री तिमिल्सिनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत कतारस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्नुभएको थियो। सो अवसरमा विदेशमा रहेका नेपाली नागरिकलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो।
विश्वव्यापी दूरसञ्चार नीति निर्माण प्रक्रियामा नेपालको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै विदेशमा रहेका नेपाली नागरिकलाई प्रभावकारी र प्रविधिमैत्री सेवा उपलब्ध गराउन नेपाल सरकारले प्राथमिकता दिएको छ।