काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री शाहले सांसदहरू प्राविधिक विषयमा जानकार हुनुका साथै मुलुकको नीति निर्माण गर्ने स्थानमा रहेकाले देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘असाधारण’ मानिस भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिले सधैँ नयाँ उपाय ल्याउने र त्यसैमा काम गर्ने बताउनुभयो। नयाँ सोच र उपायमा केन्द्रित भएर काम गर्न सके पाँच वर्षमा मुलुक बन्न सक्ने धारणा पनि उहाँले राख्नुभएको थियो।