हामी काम गर्न आएका हौँ, जे गर्छौं आम नेपाली जनताको हितमै गर्छौँ—प्रधानमन्त्री

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सरकार जनचाहना अनुसार काम गर्न आएको र सबै निर्णय आम नेपाली जनताको हितमा केन्द्रित हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी र कर्मचारीतन्त्रमा लामो समयदेखि दलगत राजनीतिक प्रभाव बढेको भन्दै आलोचना गरेका छन्। उनका अनुसार विद्यार्थी र कर्मचारी संगठनहरू वर्षौंदेखि राजनीतिक दलका “स्लिपर सेल” का रूपमा प्रयोग हुँदै आएका छन्, जसले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको छ।

प्रधानमन्त्री शाहले योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको आधारमा अवसर वितरण हुने अभ्यासले शिक्षा क्षेत्र र कर्मचारीतन्त्रको मर्यादामा नकारात्मक असर पारेको बताएका छन्।

उनले अब शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्ने नीति अघि बढाइएको स्पष्ट पारेका छन्। उनका अनुसार यसले पेशागत स्वतन्त्रता मजबुत बनाउनेछ भने नियुक्ति, सरुवा र बढुवामा अब विधि, क्षमता र दक्षता मुख्य आधार हुनेछन्।

प्रधानमन्त्री शाहले विद्यार्थीले सभ्य, जिम्मेवार र विचारयुक्त राजनीति सिक्नुपर्ने तथा कर्मचारीले जनताको सेवा गर्नुपर्नेमा जोड दिएका छन्। यो कदम कुनै दलविरुद्ध नभई प्रणाली सुधार, संस्थागत सुदृढीकरण र भविष्य सुरक्षित गर्ने प्रयास भएको उनको भनाइ छ।

उनले थपेअनुसार सरकारले अध्यादेशमार्फत यस्ता विकृतिहरू हटाउने प्रयास गरेको छ। साथै, परिवर्तन भाषणबाट होइन निर्णय र कार्यान्वयनबाट आउने भन्दै सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्।

अन्त्यमा उनले भनेका छन्,
“हामी काम गर्न आएका हौँ, जे गर्छौं नेपाली जनताको हितमै हुन्छ।”


प्रतिक्रिया