रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

hitkhabar.com


काठमाडौं । बाढी तथा पहिरोका कारण खानेपानीका स्रोत र वितरण प्रणालीमा क्षति पुगेपछि रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको छ। जोखिम न्यूनीकरणका लागि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्‍याइएको हो।

बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले हैजा तथा पानीजन्य रोगको सम्भावित संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोगको निगरानी बढाउने र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यलाई तीव्रता दिइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

त्यस्तै, प्रभावित बस्तीमा सुरक्षित खानेपानीको व्यवस्था, सरसफाइ तथा स्वच्छतामा विशेष ध्यान दिनुका साथै आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको छ।

बाढी तथा पहिरोका कारण खानेपानीका मुहान र वितरण संरचनामा क्षति पुगेकाले दूषित पानीबाट सर्ने हैजा लगायतका रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

सम्भावित संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रोगको निगरानी, प्रारम्भिक पहिचान, रोकथाम तथा उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

प्रतिक्रिया