काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार यही सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार भने सामान्य गिरावट देखिएको हो ।
यता चाँदीको मूल्यमा भने वृद्धि भएको छ । शुक्रबार प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २५ रुपैयाँले बढेर ५ हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिने गरेको व्यवसायीहरू बताउँछन् । पछिल्ला दिनमा सुनको मूल्य उच्च विन्दु नजिक पुगेका बेला आइतबारको गिरावटलाई बजारले चासोका साथ हेरेको छ ।