काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षाको अनुमान गरिएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।