काठमाडौं । धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहास, भूगोल तथा नेपाली मौलिक पहिचानका विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले धार्मिक–सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना गरिएको छ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को पहलमा स्थापना गरिएको अक्षय कोषका लागि गोकर्णेश्वर नगरपालिका–५ निवासी कोमलप्रसाद लामिछानेले प्रारम्भिक स्रोतका रूपमा ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ।
कोष स्थापना शुभारम्भ कार्यक्रममा वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले नेपाली संस्कृति र परम्पराको संरक्षणका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। संस्कृति संरक्षणका लागि संस्कार र चेतनाको विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न पुरस्कारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री प्रजापतिले वैदिक सनातन धर्म र नेपाली संस्कृतिको संरक्षणमा समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै प्रदेश सरकारलाई संविधानको मर्मअनुसार अधिकार र जिम्मेवारी दिनुपर्ने धारणा पनि राख्नुभयो। प्रदेश गठन भएको लामो समय बितिसक्दा पनि पर्याप्त अधिकार प्राप्त हुन नसकेको उहाँको भनाइ थियो।
कार्यक्रममा पूर्व गृह राज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले पछिल्लो समय पत्रकारितामा धर्म र संस्कृति सम्बन्धी विषयले अपेक्षित प्राथमिकता पाउन नसकेको बताउनुभयो। यस्ता विषयमा पत्रकारिता गर्न चुनौती भए पनि नेपाली मौलिकता र संस्कृतिको संरक्षणका लागि निरन्तर काम आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
बास्कोटाले वैदिक दर्शन र विश्वशान्तिको अवधारणालाई अघि बढाउने उद्देश्यले ‘विश्वशान्तिराष्ट्रम्’ स्थापना गरिएको जानकारी दिँदै महर्षि महेश योगीको वैदिक विश्व तथा रामराज्यसम्बन्धी अवधारणालाई व्यवहारमा उतार्ने प्रयास भइरहेको बताउनुभयो।
अक्षय कोषका लागि प्रारम्भिक रकम उपलब्ध गराउनुभएका लामिछानेले धर्म तथा संस्कृतिसम्बन्धी पत्रकारिता अन्य विधाको तुलनामा पछाडि परेको महसुस भएपछि आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो। उहाँले आगामी दिनमा कोषमा थप रकम जुटाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. ध्रुवप्रसाद भट्टराईले शिक्षा क्षेत्रमा सुधार हुन नसक्दा धर्म, संस्कृति लगायतका क्षेत्रमा समेत विकृति देखिएको बताउँदै संस्कार र मौलिक संस्कृति संरक्षणका लागि शिक्षाको गुणस्तर सुधार आवश्यक रहेको धारणा राख्नुभयो।
धार्मिक तथा सांस्कृतिक व्यक्तित्व धर्मराज बरालले नेपालमा धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण धेरै सम्पदा भए पनि तिनको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताउनुभयो। यस्ता सम्पदाबारे सञ्चारमाध्यममार्फत नियमित सामग्री प्रकाशन तथा प्रसारण गर्न सके धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
नागेश्वर एवं बाणेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष प्रकाश रायमाझीले गुठी व्यवस्थासँग सम्बन्धित विषयमा देखिएका समस्यातर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।
विश्व हिन्दू महासङ्घका महासचिव शम्भुहरि बास्तोलाले नेपालको मौलिक पहिचान संरक्षण र प्रवद्र्धनका लागि राज्यको नीति तथा व्यवस्थाबारे पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले अक्षय कोषलाई क्रमशः विस्तार गर्दै लैजाने बताउनुभयो। विसं २०८४ को पौष शुक्ल पूर्णिमादेखि प्रत्येक वर्ष एक जना पत्रकारलाई धार्मिक–सांस्कृतिक पत्रकारिता पुरस्कार प्रदान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा समाजका कार्यवाहक महासचिव जयराम सापकोटा तथा पूर्व महासचिव किशोरप्रसाद ढुङ्गेलले धार्मिक तथा सांस्कृतिक पत्रकारिताको प्रवद्र्धनका लागि संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो।
धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहासलगायत नेपाली मौलिकतासँग सम्बन्धित विषयमा पत्रकारिता गर्ने सञ्चारकर्मीलाई संगठित तथा प्रोत्साहित गर्ने उद्देश्यले धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को स्थापना विसं २०८१ पुस २९ गते पौष शुक्ल पूर्णिमाका दिन भएको थियो। स्थापनापछि समाजले धार्मिक तथा सांस्कृतिक पत्रकारिताको प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि गर्दै आएको जनाएको छ।