खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज र छात्रातर्फ कन्या मन्दिर मावि विजेता

hitkhabar.com


काठमाडौं । प्रथम उपमेयर कप अन्तर विद्यालय खोखो प्रतियोगितामा छात्रतर्फ शान्ति निकुञ्ज मावि र छात्रातर्फ कन्या मन्दिर मावि विजेता बनेका छन् ।

असार ११ गतेदेखि कीर्तिपुर कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ विश्व निकेतन मावि दोस्रो र भीमसेनगोला मावि तेस्रो भएका छन् । त्यस्तै छात्रातर्फ पद्मकन्या मावि दोस्रो र भीमसेनगोला मावि तेस्रो स्थान हासिल गर्न सफल भए ।

काठमाडौँ महानगरपालिकाको ३० लाख रुपैयाँ सहयोगमा नेपाल खो खो संघले सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता छात्र र छात्रा गरी दुई समूहमा सञ्चालन गरिएको थियो ।

विजेता टोलीहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले शिक्षा र खेलकुदमार्फत बालबालिकाको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकास गराउने प्रयासमा महानगरपालिका लागिरहेको बताउनुभयो । उहाँले विद्यार्थीहरूको प्रतिभा विकासका लागि अध्ययनसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया