काठमाडौं । नेपाली कांग्रेसमा संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवससमेत दुई पक्ष एकैठाउँ बसेर मनाउने स्थिति बनेन । संस्थापन र इतर पक्षले गरेका अलग–अलग कार्यक्रमले पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल पारेको छ ।
मेलमिलापको नीति अँगाल्ने र राष्ट्रको एकता चाहने आफ्नै पार्टीका संस्थापक नेता बिपीको स्मृति दिवसका दिन कांग्रेसमा भने विभाजनको रेखा देखिएको छ । संस्थापन पक्षले बुधबार बिहान ‘ग्रिन रन’ आयोजना ग¥यो । सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेता दौडमा सहभागी भए । सो कार्यक्रममा इतर समूहका नेता भने देखिएनन् । ‘ग्रिन रन’ कार्यक्रममा नदेखिएका इतर समूहले दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रममार्फत पार्टी विभाजनको चेतावनी दिए ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा।शेखर कोइराला, मोहन बस्नेतलगायत नेता सहभागी थिए । इतर समूहको कार्यक्रममा बोल्ने अधिकांशले पार्टी सभापति थापाको नीति, विचार र नेतृत्व शैलीमाथि प्रश्न उठाएका थिए । केही वक्ताले निवर्तमान पार्टी सभापति शेरबहादुर देउवामाथि २४भदौमा भएको आक्रमणमा समेत थापाको हात रहेको गम्भीर आरोप लगाए ।
कार्यक्रममा बोल्दै नेता मोहनबहादुर बस्नेतले सहमतिको सम्भावना सकिएको दाबी गरेका छन् । उनले अब नयाँ पार्टी गठनका लागि नेतृत्वपछि हट्न नहुने जिकिरसमेत गरे । ‘पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो । गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई समाप्त हुन दिइने छैन,’ उनले भने, ‘थापाको नेतृत्वमा चुनावमा गएकाले पार्टीले खरानी भएको हो, उनले काठमाडौं ४ बाट चुनाव लडेको भए जमानत जफत हुने थियो ।’ गगन नेतृत्वको कांग्रेस भदौ २ गतेबाट महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बिपीले बनाएको कांग्रेस बनाउन लाग्नुपर्ने उनको धारणा थियो ।
गत वर्ष भदौ २३ र २४को जेनजी आन्दोलनपछि पार्टीमा देखिएको विवादलाई मिलाउन नसकेको आरोप खेपेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सम्मान दाउमा राखेर गगनसँग मिल्न नसकिने बताए । उनले आफू युवाहरूको रक्षाकवच भएर हिँड्न तयार भएको बताउँदै त्यसका लागि संस्थापन पक्षबाट पहल हुनुपर्ने उनले धारणा राखे ।
‘हामी कोही पनि निष्क्रिय बस्दैनौं । युवाहरूको रक्षाकवच भएर हिँड्न तयार छौं,’ खड्काले भने, ‘प्रतिकूल अवस्थामा पुगेको नेपाली कांग्रेसलाई बचाउन जुनसुकै हदसम्म जान सकिन्छ, तर सम्मानसँग सम्झौता गरेर हैन । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौं ।’ सम्मानका लागि पञ्चायतमा पनि लडेको स्मरण गर्दै उनले त्यसमाथि सम्झौता नहुने बताए ।
उनले विशेष महाधिवेशन पक्षका ५४ प्रतिशत र नियमित महाधिवेशनका ४६ प्रतिशतलाई जोड्न सभापति थापा तयार नभएसम्म एकता सम्भव नहुने बताए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सभापति थापा आर्थिक रूपमा पनि भ्रष्टाचारमा संलग्न रहेको र बाह्य शक्तिबाट प्रभावित भएको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा गगन थापा ‘कतैबाट सञ्चालित’ रहेको भनेको कुरा अहिले पुष्टि भइरहेको जिकिर गरे । उनले वर्तमान नेतृत्वसँग मिल्न सक्ने अवस्था नभए नयाँ पार्टी गठनको तयारी गर्न पनि सुझाव दिए ।
नेता डा.शेखर कोइरालाले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाए । उनले पार्टीका निर्णय सीमित व्यक्तिको घेराभित्र हुने गरेको दाबी गर्दै विधि, प्रक्रिया र संस्थागत अभ्यासलाई बलियो बनाउनुपर्ने बताए । बिपी कोइरालाले स्थापित गरेको लोकतान्त्रिक संस्कृतिअनुसार पार्टी सञ्चालन हुन नसकेको भन्दै उनले नेतृत्वले सबैको आवाज सुन्नुपर्ने धारणा व्यक्त गरे ।
उनले ‘नेपाली कांग्रेस भाग २ भनिएको छ । २.० भनिएको छ । त्यो भनेको के हो रु तपाईंहरूले कहिल्यै बुझ्न खोज्नुभयो रु’ भन्दै संस्थापन पक्षलाई प्रश्न गरेका छन् । ‘कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ’, कोइरालाले भने, ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ ।’ पार्टीभित्र सुधार नगरे कांग्रेसले भविष्यमा ठुलो राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी पनि उनले दिए ।
आन्तरिक विवादको जड विशेष महाधिवेशन भएको बताउँदै इतर समूहका नेताहरूले त्यसको औचित्यमाथि समेत प्रश्न उठाए । सभापति थापा पार्टीको आन्तरिक विवाद मिलाउन असफल भए साउन २९ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाबाट नयाँ रणनीति तय गर्ने उनीहरूको चेतावनी थियो ।
नेता प्रकाशमान सिंहले विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा रहेको उल्लेख गर्दै १५औं महाधिवेशनलाई एकताको बनाउनुपर्ने बताए । त्यस्तै, कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरूले एकताका लागि प्रयास गरिरहेको भन्दै माग र सहमतिका आधार नस्विकारे नयाँ बाटो तय गर्न बाध्य हुने स्पष्ट पारे ।
त्यस्तै, अन्य नेताले सभापति थापा पार्टी कब्जा गर्ने बाटोमा अघि बढेको भन्दै स्वीकार्य नहुने चेतावनी दिए । उनीहरूले मुलुक र लोकतन्त्र संकटमा परेको अवस्थामा पार्टीको आन्तरिक एकताका लागि गम्भीर हुन नेतृत्वलाई सुझाव दिए ।
पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति थापासँग कांग्रेसको आत्मा नभएको बताएका छन् । ‘म सबैलाई आह्वान गर्दछु, कांग्रेस यहाँ छ । कांग्रेसको भावना र आत्मा यहाँ छ । सभापति गगन थापाज्यू, कांग्रेसमा ठुलो त्याग र बलिदान गरेका नेताहरू तपाईंभन्दा बाहिर छन्,’ उनले भने ।
कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि पार्टी सञ्चालनमा पारदर्शिता, आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र कार्यकर्ताको सम्मानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कांग्रेसभित्र देखिएको असन्तुष्टिलाई समयमै सम्बोधन नगरे भविष्यमा थप जटिलता आउन सक्ने चेतावनी दिएका छन् ।
इतर समूह संस्थापनले एकता चाहे एकता हुने पक्षमा देखिएको छ । यता, संस्थापन पक्षले भने एकताका लागि सधैं ढोका खुला रहेको बताउँदै आएको छ । इतर समूहका पूर्णबहादुर, मोहन बस्नेत, केदार कार्की, शेखर–सशांक कोइराला, प्रकाशमानलगायत नेताले पार्टीमा विवाद सभापति थापाको कारण आएकाले उनैले मिलाउनुपर्ने बताउँदै आएका छन् । नेता कृष्णप्रसाद सिटौलाले भने पार्टी एकताका लागि जस्तोसुकै परिस्थिति पार गर्न सभापति थापालाई सुझाव दिए । उनले पार्टी एकताको बीचमा आउने कसैलाई पनि नछाड्न थापालाई आग्रहसमेत गरे ।
बिहान संस्थापनले गरेको कार्यक्रममा भने गुट र फुटको कुनै संकेत देखिएको छैन । कार्यक्रममा बोल्ने अधिकांश नेताले बिपी र सरकारका बारेमा आफ्ना धारणा राखे । कार्यक्रमको सिलसिलामा भरतपुर पुगेका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी फुटाउन होइन, जोड्न लाग्नुपर्ने बताए । नेपाली कांग्रेस, भरतपुर महानगर समितिले आज आयोजना गरेको ४४औं बिपी स्मृति दिवसका अवसरमा उनले सो धारणा राखेका हुन् ।
कांग्रेसमा देखिएका नयाँ र पुराना, संस्थापन र इतर पक्षको तानातानमा बिपीको सिद्धान्त चिरा परेको राजनीतिक विश्लेषकहरू बताउँछन् । बिपीको विचार र प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको कुरा गर्नु पश्चगमन भएको इतर समूहका नेताहरूको आरोप छ । संस्थापन पक्षले भने बिपीको सिद्धान्तमा कुनै छेडखानी नहुने स्पष्ट पारेको छ ।
यद्यपि, आन्तरिक विवाद र कलहका बीच पनि दुवै पक्षले बिपी कोइरालाको राजनीतिक आदर्श, राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल रहने प्रतिबद्धता व्यक्त गरे । यो खबर मध्यान्हबाट लिएका हौ ।