काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक गरिएको छ । क्रिसमसको अवसर पारेर बिहीबार मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।
महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरमा प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दासम्मका दृश्य प्रस्तुत गरिएको छ । टिजरले मुख्य पात्रहरूबीचको अविश्वास, नियत र हिंसात्मक मनोविज्ञानलाई केन्द्रमा राख्दै कथा अगाडि बढाएको देखिन्छ ।
अविश्वास, नियत र आक्रमणको वरिपरि घुम्ने कथामा पात्रहरूले एकअर्कालाई सिध्याउने मानसिक खेल खेलिरहेको संकेत टिजरमा पाइन्छ । प्रहरीद्वारा बयान लिइँदै गरेका दृश्यहरू र अपराधसँग जोडिएका श्रृंखलाबद्ध घटनाहरूले कथालाई थप रहस्यमय बनाएको छ ।
ब्याकग्राउन्ड स्कोर र कलर टोनले चलचित्रको साइकोलोजिकल थ्रिलर शैलीलाई बलियो बनाएको छ । समग्रमा टिजरले दर्शकलाई मानसिक द्वन्द्व र त्रासपूर्ण कथामा तान्ने प्रयास गरेको देखिन्छ ।
टिजरसँगै निर्माण टिमले चलचित्रको नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ । यसअघि पुस १० गते रिलिज गर्ने भनिएको चलचित्र अब माघ १६ गते प्रदर्शनमा आउनेछ ।
बलिराम चौहानको निर्देशनमा बनेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको प्रमुख भूमिका रहेको छ । बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि अभिनय रहेको छ ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्रका को–प्रोड्युसर भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
टिजर हेर्नुहोस्: https://www.youtube.com/watch?v=tLw3r63JubA