१२:३४ मा बालेनको शपथ, वैदिक परम्पराअनुसार प्रधानमन्त्री बन्दै

hitkhabar.com


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) साह आज मध्याह्न १२:३४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिँदैछन्।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ। बालेनले यसपटक वैदिक–सनातन परम्पराअनुसार शपथ लिने तयारी गरेका छन्, जसले शपथ कार्यक्रमलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई यसअघि नै संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिसकेको छ। सभापति रवि लामिछानेको प्रस्तावमा उनी दलको नेतामा चयन भएका हुन्।

संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेअनुसार बालेन देशको कार्यकारी नेतृत्वमा पुग्न लागेका हुन्।

शपथ लगत्तै उनी अपराह्न २:१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

शपथ समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नागरिक समाजका अगुवाको उपस्थिति रहनेछ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य सफलता हासिल गरेको थियो भने बालेन साह झापा–५ बाट विजयी भएका थिए।


प्रतिक्रिया