काठमाडौं। हरेक वर्ष मनाइने हनुमान जयन्ती हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हो। भगवान् हनुमानको जन्मोत्सवका रूपमा मनाइने यस पर्वले शक्ति, साहस, निष्ठा र अटल भक्तिको सन्देश दिने विश्वास गरिन्छ।
हनुमानलाई भगवान् रामका परम भक्तका रूपमा चिनिन्छ। रामायणका प्रमुख पात्र हनुमान आफ्नो अतुलनीय बल, अदम्य साहस र सेवाभावका कारण ‘भक्ति शिरोमणि’का रूपमा प्रसिद्ध छन्। धार्मिक मान्यता अनुसार उनी अञ्जना र केशरीका पुत्र हुन् भने वायु देवको विशेष कृपाबाट जन्म भएकाले ‘पवन पुत्र’ वा ‘वायु पुत्र’ नामले चिनिन्छन्।
धार्मिक कथाअनुसार बाल्यकालमा अत्यन्त चञ्चल स्वभावका हनुमानले ऋषिहरूको तपस्यामा बाधा पुर्याएपछि एक ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने श्राप दिएका थिए। त्यसपछि आवश्यक पर्दा मात्र अरूले सम्झाइदिएपछि उनले आफ्नो असाधारण शक्ति प्रयोग गर्न सक्ने विश्वास गरिन्छ।
रामायणमा हनुमानका वीरतापूर्ण र प्रेरणादायी कार्यहरू व्यापक रूपमा वर्णन गरिएको छ। सीताको खोजीमा उनले विशाल समुद्र पार गरेर लंका पुग्नु, अशोक वाटिकामा सीतालाई भेटेर श्रीरामको सन्देश सुनाउनु तथा रावणको आदेशपछि पुच्छरमा आगो लगाइएपछि सम्पूर्ण लंका दहन गर्नु उनका चर्चित कार्यहरू हुन्।
त्यसैगरी, लक्ष्मणलाई मेघनाथको वाण लागेर घाइते भएपछि उनलाई बचाउन आवश्यक सञ्जीवनी बुटी ल्याउन नसकेपछि हनुमानले पूरा पर्वत नै उठाएर ल्याएको प्रसंग निकै महत्वपूर्ण मानिन्छ। यस घटनाले हनुमानको अपार शक्ति, तत्परता र समर्पणलाई झल्काउँछ।
हनुमानको भगवान् रामप्रतिको अटल भक्तिको उदाहरणस्वरूप उनले आफ्नो छाती चिरेर भित्र राम र सीताको दर्शन गराएको प्रसंग पनि धार्मिक ग्रन्थहरूमा वर्णित छ। यही अटुट भक्तिका कारण उनलाई ‘संकटमोचक’ अर्थात् दुःख–कष्ट हटाउने देवताका रूपमा पूजा गरिन्छ।
धार्मिक मान्यता अनुसार भगवान् रामले दिएको वरदानका कारण हनुमान पृथ्वीमै रहिरहने विश्वास गरिन्छ। त्यसैले भक्तजनहरूले जीवनमा आउने कठिनाइ, संकट र बाधाहरूबाट मुक्ति पाउन हनुमानको स्मरण गर्ने गर्छन्।
हनुमान जयन्तीका दिन विशेषगरी मंगलबार वा शनिबार पूजा, व्रत तथा हनुमान चालीसा पाठ गर्ने परम्परा रहेको छ। हनुमान चालीसा भगवान् हनुमानका गुण, शक्ति र भक्तिको वर्णन गरिएको स्तुति हो, जसको नियमित पाठले मानसिक शान्ति, साहस र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ।
त्यसैगरी, बजरंग बाणलाई अझ शक्तिशाली स्तोत्रका रूपमा लिइन्छ, जुन विशेषगरी ठूलो संकट, बाधा–अड्चन वा जीवनमा गम्भीर समस्या परेको अवस्थामा श्रद्धापूर्वक पाठ गरिन्छ। धार्मिक विश्वास अनुसार यसको पाठले छिटो प्रभाव पार्ने र संकटबाट मुक्ति दिलाउने मान्यता रहेको छ।
हनुमान जयन्तीका अवसरमा देशभरका हनुमान मन्दिरहरूमा विशेष पूजा–आराधना भइरहेको छ र भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
नेपालसहित भारत, बंगलादेश, म्यानमार र थाइल्याण्ड लगायतका देशहरूमा पनि हनुमान जयन्ती श्रद्धापूर्वक मनाइन्छ, जसले यसको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्दछ।