SEE परीक्षार्थीलाई शिक्षामन्त्रीको सन्देश: आत्मविश्वासका साथ परीक्षा दिनुहोस्

hitkhabar.com


काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुन लागेका सम्पूर्ण विद्यार्थीहरूलाई सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले हार्दिक शुभकामना दिएका छन्।

मन्त्री पोखरेलले आफ्नो आधिकारिक फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै परीक्षा जीवनको एउटा सानो हिस्सा मात्र भएको उल्लेख गरेका छन्। उनले विद्यार्थीहरूलाई डर र तनावबाट मुक्त भई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरेका छन्।

उनले वर्षभरि गरेको मिहिनेत, त्याग र तयारी नै सबैभन्दा ठूलो शक्ति भएको बताउँदै नयाँ वातावरण वा दबाबका बीच पनि शान्त रहन सुझाव दिएका छन्। “आफूमा विश्वास राख्नुहोस्, धैर्यताका साथ प्रश्न समाधान गर्नुहोस् र सक्दो राम्रो प्रयास गर्नुहोस्,” उनले उल्लेख गरेका छन्।

मन्त्री पोखरेलले अरूसँग तुलना गर्न नभई आफ्नै प्रगति र आत्मविश्वासका लागि परीक्षा दिनुपर्नेमा जोड दिएका छन्। सफलताका लागि इमानदारी, अनुशासन र आत्मविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै उनले गरेको प्रयास कहिल्यै खेर नजाने विश्वास व्यक्त गरेका छन्।

उनले SEE परीक्षालाई अन्तिम गन्तव्य नभई विद्यार्थी जीवनको महत्वपूर्ण सुरुवातका रूपमा लिन आग्रह गर्दै उज्ज्वल भविष्यका लागि धेरै-धेरै शुभकामना दिएका छन्।


प्रतिक्रिया