काठमाडौं । सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय चैत २३ गतेदेखि लागू हुनेछ। इन्धन आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए।
निर्णयअनुसार शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। सीमित समयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको सरकारको भनाइ छ।
इन्धन संकट समाधान नभएसम्मका लागि यो व्यवस्था लागू रहने जनाइएको छ। सरकारले नागरिकलाई अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न पनि आग्रह गरेको छ।
05 Apr 2026