काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने तय भएको छ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गर्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ। अर्याल यसअघि नै निर्विरोध रूपमा सभामुखमा चयन भइसकेका छन्। उनको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने रहेका छन् भने समर्थन सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्सालले गरेका छन्।
बैठकमा उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। उक्त बैठकमा विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेरसम्बन्धी कार्य हुने जनाइएको छ। साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नामसमेत तोकिनेछ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन्।