आजको मौसम : देशभर बदली, वर्षा र हावाहुरीको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव कायमै रहँदा आजको मौसम मिश्रित रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

महाशाखाले दिएको जानकारीअनुसार पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना तथा हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा तथा अन्य तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसममा आएको यो परिवर्तनले दैनिक जनजीवन, यातायात तथा कृषिमा समेत प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया