चैत्र पूर्णिमाबाट सुरु भयो वैशाख स्नान

hitkhabar.com


काठमाडौँ । चैत्र शुक्ल पूर्णिमा (हनुमान जयन्ती) देखि हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिने वैशाख स्नान औपचारिक रूपमा सुरु भएको छ। यो स्नान वैशाख शुक्ल पूर्णिमासम्म चल्ने धार्मिक परम्परा रहेको छ।

शास्त्रहरूमा “वैशाख समान कुनै महिना छैन, सत्ययुग समान कुनै युग छैन, वेद समान कुनै शास्त्र छैन र गङ्गाजी समान कुनै तीर्थ छैन” भन्ने उल्लेख पाइन्छ, जसले यस महिनाको विशेष धार्मिक महत्वलाई स्पष्ट पार्छ।

स्कन्दपुराणका अनुसार वैशाख महिनामा सूर्योदयभन्दा अघि अर्थात् ब्रह्ममुहूर्तमा नदी, तीर्थ वा घरमै स्नान गरी भगवान विष्णुको आराधना गर्नाले ठूलो पुण्य प्राप्त हुने विश्वास छ। धार्मिक कथनअनुसार महिर्थ नामका राजाले यही वैशाख स्नानको प्रभावले वैकुण्ठ प्राप्त गरेका थिए।

धार्मिक मान्यता अनुसार यस अवधिमा श्रद्धालुहरूले पवित्र स्नान, व्रत, दान–पुण्य तथा भगवानको स्मरण गर्ने गर्दछन्। यसरी विधिपूर्वक गरिने वैशाख स्नानले शारीरिक मात्र होइन, आत्मिक शुद्धता पनि दिलाउने र सम्पूर्ण पाप नाश भई मोक्ष प्राप्त हुने विश्वास गरिएको छ।

यस महिनामा जलदान, फलफूल तथा अन्न दान गर्नुलाई विशेष पुण्यदायक मानिन्छ। यदि कसैले पूरै महिनाभर स्नान गर्न नसकेमा वैशाखको अन्तिम तीन दिन—त्रयोदशी, चतुर्दशी र पूर्णिमा—मा स्नान गर्दा पनि पूर्ण फल प्राप्त हुने जनविश्वास रहेको छ।


प्रतिक्रिया