पश्चिमी प्रणाली सक्रिय : देशभर वर्षा, हिमपात र चट्याङको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहँदा मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहनेछ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

यी प्रदेशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा पनि वर्षा हुने अनुमान गरिएको छ। साथै, मधेश प्रदेश र कोशी तथा बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि मौसम प्रभावित

आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका साथै पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बाँकी तराई क्षेत्रका थोरै स्थानहरूमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया