काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगल गणतन्त्रका विदेश राज्यमन्त्री महामहिम पाउलो राङ्गेलबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा मन्त्री खनालले पोर्चुगलमा बसोबास गरिरहेका दुई हजारभन्दा बढी नेपाली नागरिकले भोगिरहेका समस्याबारे ध्यानाकर्षण गराएका थिए। उनीहरूका वास्तविक कागजात, विशेषगरी प्रहरी चरित्र प्रमाणपत्र (Police Clearance Certificate), मा नक्कली छाप लगाइएको कारण उनीहरू कानुनी तथा प्रक्रियागत जटिलतामा परेका छन्। उक्त कागजातहरू नयाँ दिल्लीस्थित नेपाल र पोर्चुगल दूतावासबाट प्रमाणीकरण गरिएको भनिए पनि नक्कली भएको आशंका गरिएको छ।
मन्त्री खनालले प्रभावित नेपाली नागरिकहरूको अवस्थाबारे पुनर्विचार गर्न पोर्चुगल सरकारसँग आग्रह गरेका थिए। जवाफमा मन्त्री राङ्गेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्बन्धित निकायसँग समन्वय गरी मानवीय दृष्टिकोणबाट प्रभावित नेपालीहरूको मुद्दा पुनरावलोकन गरिने बताएका छन्।
यस अवसरमा मन्त्री राङ्गेलले मन्त्री खनाललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
वार्ताका क्रममा दुवै पक्षले नेपाल–पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेकोमा सन्तुष्टि व्यक्त गर्दै जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधि लगायतका क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।