काठमाडौं महानगरका २ लाखभन्दा बढी भवन डिजिटल नक्सामा

hitkhabar.com


काठमाडौं ।
काठमाडौं महानगरपालिकाभित्र दुई लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन गरिएको छ ।

भूउपयोग परिषद्का अध्यक्ष एवं कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा महानगरपालिकाको भूउपयोग वर्गीकरण तथा डिजिटल नक्साङ्कनसम्बन्धी प्रगतिबारे जानकारी गराइएको हो ।

भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग तथा सांस्कृतिक एवं पुरातात्विक महत्वका क्षेत्र समेटिनेछन् । आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था रहेको छ ।

बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले प्रस्तुतीकरण गर्दै महानगरपालिकाले घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

महानगरपालिकाभित्रका १२ हजार ८११ वटा सडकको नक्साङ्कन गरी दुई हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआईएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ ।

त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि दुई लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको छ । तीमध्ये २५ हजार १९ वटा भवनको प्रमाणीकरण गरिएको छ ।

महानगरपालिकाले विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआईएस अभिलेख निर्माण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया