काठमाडौं । इरानको Qeshm Island मा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झा हाल पनि इरानको बन्दर अब्बासस्थित हिरासतमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा रिहा भएको भन्ने यसअघि सार्वजनिक जानकारी गलत भएको स्वीकार गर्दै त्यसबाट सिर्जित अन्योलप्रति क्षमायाचना गरेको हो।
मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच द्वन्द्व सुरु हुनुअघि नै सन् २०२६ जनवरीको सुरुमा अमृत झासहित ७ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट नियन्त्रणमा लिएका थिए। उनीहरूविरुद्ध अवैध सामान तस्करी तथा ओसारपसारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको बताइएको छ।
परराष्ट्र मन्त्रालयले १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee बाट अमृत झा रिहा भएको अनौपचारिक सूचना प्राप्त भएको जनाएको छ। उक्त सूचनाका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले सामाजिक सञ्जालमार्फत पनि झा रिहा भएको जानकारी सार्वजनिक गरेका थिए।
तर केही दिनपछि प्राप्त विवरणअनुसार झा रिहा नभएको र अदालतले मुद्दासम्बन्धी Expert Report तयार गर्न आदेश दिएको खुलेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
मन्त्रालयले इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकाले त्यसको निरूपण त्यहाँकै कानुनअनुसार हुने स्पष्ट पारेको छ। साथै, अमृत झाको निष्पक्ष सुनुवाइ र आवश्यक कूटनीतिक सहयोगका लागि उपलब्ध सबै माध्यममार्फत पहल जारी रहेको जनाएको छ।