काठमाडौँ महानगरद्वारा ‘चर्या नृत्य प्रवाह’ र ‘साधक गुरु सम्मान’ कार्यक्रम सम्पन्न

hitkhabar.com


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रचनात्मक उद्योग क्षेत्रका कार्यक्रम विस्तार गर्ने क्रममा ‘चर्या नृत्य प्रवाह’ तथा ‘साधक गुरु सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा गुरु वन्दना, पँयेता मूः द्यः ल्हायेगु, रत्नमण्डल अर्पण, पञ्चोपचार अर्पण, षोडषलास्य, पद्मनर्तेश्वर, एवममया, नाम संगीति, कुरुकुल्ला, बज्र सरस्वती, कालभैरव, वुंगमलोकेश्वर, जय जय बागेश्वरी, बज्रवीर महाकाल र बज्रसत्व शत्ताक्षर नृत्य प्रस्तुत गरिएको थियो। यी नृत्य प्रस्तुतिमा ७५ जना कलाकार सहभागी भएका थिए।

बज्रयान बौद्ध दर्शनमा आधारित चर्या नृत्य विभिन्न देवी–देवताको स्वरूप, भाव र मुद्रामा प्रस्तुत गरिने परम्परागत नृत्य हो। काठमाडौँ उपत्यकामा बसोबास गर्ने बौद्धमार्गी समुदायले देवीदेवता तथा पितृ आव्हान र आराधनाका क्रममा सीमित व्यक्तिहरूबीच प्रस्तुत गर्ने भएकाले यसलाई गुप्त नृत्यका रूपमा लिइन्छ।

चर्या गीत अर्थात् बज्र गीतको लय र तालमा प्रस्तुत हुने यस नृत्यमा पञ्चबुद्ध, मञ्जुश्री, आर्यतारा, लोकेश्वरलगायत देवीदेवताको उपासना गरिन्छ। कार्यक्रमले मौलिक कला, संस्कृति र परम्परागत नृत्य संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।



प्रतिक्रिया