कान्स फिल्म फेस्टिभलमा नेपाली उपस्थितिले गौरव बढायो : सुनिता डंगोल

hitkhabar.com


काठमाडौँ । यस वर्ष फ्रान्सको कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।

फेस्टिभलको फोरममार्फत काठमाडौँ फिल्म फेस्टिभलको विषय अन्तरराष्ट्रिय मञ्चमा प्रवेश गर्नु नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि आज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले यस वर्षको सहभागिताले नेपाली चलचित्र उद्योगलाई अन्तरराष्ट्रिय स्तरमा अझ मजबुत बनाएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार निर्देशक अविनाश विक्रम शाहको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ ले ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नु नेपाली चलचित्र तथा रचनात्मक उद्योगका लागि ठूलो उपलब्धि हो ।

यो सफलताले नेपाली कला, चलचित्र र रचनात्मक उद्योगको उचाइ अझ बढाएको उहाँको धारणा थियो ।

प्रतिक्रिया