जातीय छुवाछूत अन्त्यका लागि एकजुट हुन मन्त्री सिता बादीको आह्वान

hitkhabar.com


काठमाडौं । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ को अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले जातीय छुवाछूत तथा सबै प्रकारका विभेदविरुद्ध एकजुट भएर उभिन सम्पूर्ण नेपाली नागरिकलाई आह्वान गरेकी छन्।

दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मन्त्री बादीले वि.सं. २०६३ साल जेठ २१ गते तत्कालीन प्रतिनिधिसभाले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको ऐतिहासिक निर्णयले नेपाली समाजलाई समानता, सम्मान र सामाजिक न्यायको मार्गतर्फ अघि बढाएको उल्लेख गरेकी छन्।

उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकार सुनिश्चित गरेको तथा जातीय छुवाछूत र भेदभावलाई पूर्ण रूपमा निषेध गरेको स्मरण गराउँदै दलित समुदायको समान सहभागिता, सामाजिक न्याय, सामाजिक सुरक्षा र सशक्तीकरण राज्यको दायित्व भएको बताएकी छन्।

मन्त्री बादीले जातीय तथा अन्य छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जातीय भेदभावलाई कानुनी अपराधका रूपमा परिभाषित गरेको उल्लेख गर्दै कानुनी व्यवस्थासँगै समाजको सोच, व्यवहार, संस्कार र सामाजिक सम्बन्धमा समेत परिवर्तन आवश्यक रहेको बताएकी छन्।

सन्देशमा उनले दलित समुदायको अधिकार सुनिश्चित गर्न राष्ट्रिय दलित आयोगलगायत सरोकारवाला निकायसँग सहकार्य गर्दै मन्त्रालयले सामाजिक न्याय, समानता र समावेशी विकासका लागि आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

न्याय, समानता र सम्मानका लागि निरन्तर संघर्षरत दलित समुदायका अग्रज, सामाजिक अभियन्ता तथा अधिकारकर्मीहरूको योगदानको प्रशंसा गर्दै मन्त्री बादीले विभेदमुक्त, सम्मानपूर्ण, समावेशी र समतामूलक समाज निर्माणका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएकी छन्।

मन्त्री बादीले जातीय छुवाछूतको अन्त्य बिना सामाजिक न्याय सम्भव नहुने, सामाजिक न्याय बिना समृद्धि सम्भव नहुने र समानता बिना लोकतन्त्र पूर्ण हुन नसक्ने उल्लेख गर्दै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न सबैमा आग्रह गरेकी छन्।



प्रतिक्रिया