काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नुभएको छ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार आयोजित बैठकमा बजेट कार्यान्वयनसँग सम्बन्धित विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी भएका थिए। अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा बसेको बैठकमा आगामी आर्थिक वर्षका बजेट तथा कार्यक्रम समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा प्रारम्भिक छलफल भएको हो।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गृह तथा रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अर्थ मन्त्रालयका अनुसार बजेट कार्यान्वयनलाई प्रभावकारी, समन्वयात्मक र नतिजामुखी बनाउने उद्देश्यले मन्त्रालयगत छलफलको सुरुआत गरिएको हो। आगामी दिनमा पनि बजेट कार्यान्वयनका विभिन्न पक्षमा सम्बन्धित निकायहरूसँग नियमित समन्वय र समीक्षा बैठक सञ्चालन गरिने जनाइएको छ।