काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने तथा यसको प्रारम्भिक पहिचान र समयमै उपचारको महत्त्वबारे जानकारी गराउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ ।
इन्फिनिट केयर्स र क्यान्सर केयर नेपालको सहकार्यमा आयोजना हुन लागेको पिंकवाक असोज १७ गते शनिबार (अक्टोबर ३, २०२६) बिहान ६ बजे सुरु हुनेछ ।
आयोजकका अनुसार पदयात्रा काठमाडौंको वसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म हुनेछ ।
कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, क्यान्सर प्रभावित परिवार, विभिन्न संघसंस्था तथा साझेदार संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ ।
स्तन क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न सके उपचारका अवसर प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायस्तरमा सचेतना बढाउनु पिंकवाकको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
त्यस्तै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र उनीहरूका परिवारलाई सामाजिक तथा भावनात्मक साथ आवश्यक हुने सन्देश पनि अभियानमार्फत प्रवाह गरिनेछ ।
इन्फिनिट केयर्सका इकाइ प्रमुख दिजुप तुलाधरले पिंकवाकलाई सामान्य पदयात्राभन्दा व्यापक जनचेतनामूलक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए । उनका अनुसार स्तन क्यान्सरका विषयमा खुलेर छलफल गर्ने वातावरण बनाउनु र प्रभावित व्यक्ति तथा परिवारप्रति समुदायको साथ र ऐक्यबद्धता अभिव्यक्त गर्नु अभियानको महत्त्वपूर्ण पक्ष हो ।
पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेसनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा र ह्याप्पी माइन्ड्सलगायत संस्थाको साझेदारीमा आयोजना हुँदैछ । नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।
यसअघि पिंकवाकको पहिलो संस्करण २०८० असोजमा आयोजना गरिएको थियो । त्यस क्रममा ६०० भन्दा बढी सहभागीले नक्सालको नारायणचौरदेखि स्वयम्भूसम्म पदयात्रा गरेका थिए ।
दोस्रो संस्करणमार्फत पनि स्तन क्यान्सरको प्रारम्भिक पहिचान, सचेतना अभिवृद्धि, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
इन्फिनिट केयर्स इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालिको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन हुने सामुदायिक पहलमध्ये एक हो । कम्पनीले नेपालमा प्रविधिसँगै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रममार्फत समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले काम गर्दै आएको जनाएको छ ।
यस्तै, क्यान्सर केयर नेपालले नेपालमा क्यान्सरसम्बन्धी जनचेतना, रोकथाम, प्रारम्भिक पहिचान तथा प्रभावित बिरामीलाई आवश्यक सहयोग उपलब्ध गराउने क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।