उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमान्ले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया बिमला राईमाथि सिकलले गर्दनमा प्रहार गरेका थिए।
घटना २०८३ असोज ४ गते राति करिब १२ः३० बजे भएको हो। घटनापछि गन्दु राम राई आफैं अस्थायी प्रहरी पोस्ट माडिबास, उदयपुरमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरमा ल्याएको जनाएको छ।
धारिलो हतियारको प्रहारबाट घाइते भएकी बिमला राईलाई अस्थायी प्रहरी पोस्ट माडिबासबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको दुई सदस्यीय प्रहरी टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो।
तर, उपचारका क्रममा राति १ः१५ बजे बिमला राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न गन्दु राम राई प्रहरी नियन्त्रणमा रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।