काठमाडौं । विश्वका सातवटा महादेशका अग्ला शिखर आरोहण गर्ने लक्ष्यसहित ‘सेभेन समिट’ अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले ओसिनियाको सबैभन्दा अग्लो पर्वत ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) सफलतापूर्वक आरोहण गरेका छन् ।
पाण्डेले स्थानीय समयअनुसार आइतबार बिहान ९ः३० बजे शिखर चुमेका हुन् । आरोहणपछि उनी हाल बेसक्याम्पमा रहेका छन् र आज–भोलि त्यहीँ बस्ने कार्यक्रम रहेको बताइएको छ ।
सो अभियानका लागि उनी गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका थिए । मलेसिया हुँदै इण्डोनेसियाको राजधानी जकार्ता पुगेका पाण्डेले त्यसपछि तिमिका हुँदै अगस्ट १४ मा ४,३०० मिटर उचाइको येलो भ्याली बेसक्याम्प पुगेका थिए । त्यसपछि पर्वत गाइडसँग तालिम र अनुकूलन गरेर अगस्ट १६ मा पूर्ण प्राविधिक आरोहण सुरु गरेका उनले आज बिहान शिखरमा पाइला टेकेका हुन् ।
४,८८४ मिटर अग्लो यो शिखर चुनढुङ्गाले बनेको पिरामिड आकारको भएकाले अत्यन्तै जोखिमपूर्ण मानिन्छ । इण्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित यसलाई विश्वका सात महादेशका उच्च शिखरमध्ये एकको रुपमा गनिन्छ ।
यो आरोहणपछि पाण्डे अब क्रमशः उत्तर अमेरिकाको माउन्ट डेनाली र अन्टार्टिकाको उच्च शिखर आरोहण गर्ने लक्ष्यमा छन् । अन्ततः स्वदेश फर्किएर फेरि सगरमाथाको शिखरमा राष्ट्रिय झण्डा फहराउने उनको योजना छ ।
मकालु आउटफिटको सहकार्यमा भएको यस अभियानलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानहरूले सहयोग गरेका थिए । अभियान अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिएका थिए ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का स्थायी वासिन्दा पाण्डे यसअघि सगरमाथा, मनास्लु, आमादब्लमसहित नेपालका दर्जनौँ हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन् । उनले हालै युरोपको माउन्ट एलब्रस, अफ्रिकाको किलिमन्जारो र दक्षिण अमेरिकाको अकोन्कागुआ आरोहण गरेका थिए ।
सन् २०१६ देखि आरोहण यात्रा सुरु गरेका पाण्डेले सन् २०१८ मा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । हाल उनी ‘सेभेन समिट’ अभियानमार्फत जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएका छन् ।