काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुग्नुभएका अर्थमन्त्री तथा एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले बैंककी अध्यक्ष जोउ जियायीसँग भेटवार्ता गर्नुभएको छ।
दोहामा भएको भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ। उहाँले प्राकृतिक विपद्पछिको पुनर्निर्माण, उत्थानशील पूर्वाधार निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारमा बैंकको सहयोग आवश्यक रहेको बताउनुभएको छ।
भेटका क्रममा अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको बाढीबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उत्थानशील पुनर्निर्माणका लागि एआईआईबीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अध्यक्ष जोउले परियोजना तयारीका लागि एआईआईबीको ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फन्ड’मार्फत अनुदान सहायता उपलब्ध गराउन सकिने जानकारी दिनुभएको छ। उक्त फन्डबाट प्राप्त अनुदान प्रयोग गर्दा नेपाललाई उपलब्ध गराइने ऋणलाई थप सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने धारणा पनि उहाँले राख्नुभएको छ।
भेटवार्तामा अर्थमन्त्री वाग्लेले एआईआईबीको लगानीमा सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकसम्बन्धी अध्ययन प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गर्नुभएको छ। साथै, एआईआईबीको लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ।
नेपालको हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक तथा डिजिटल पूर्वाधारको विकासका लागि मध्यमकालीन तथा दीर्घकालीन सहयोगअन्तर्गत एआईआईबीको स्रोत परिचालन गर्न पनि अर्थमन्त्री वाग्लेले आग्रह गर्नुभएको छ। उहाँले बैंकको आफ्नै स्रोतसँगै अन्य दातृ निकायका स्रोतसमेत परिचालन गरी नेपालका पूर्वाधार आयोजनामा लगानी विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबी अध्यक्ष जोउलाई सन् २०२६ भित्र नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिनुभएको छ।
एआईआईबीको ११औँ वार्षिक बैठक सेप्टेम्बर २८ र २९ मा कतारको दोहामा आयोजना हुँदैछ। एआईआईबीका अनुसार यस वर्षको वार्षिक बैठकको मुख्य विषय ‘Tomorrow’s Infrastructure: Impact and Innovation’ रहेको छ।