काठमाडौं । विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित ‘सनवेइयन्स इनोभेसन फेस्ट २०२६’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम साउन १० गते (आइतबार) बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। फेस्टमा कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकाससँग सम्बन्धित विविध गतिविधि समेटिनेछन्।
कार्यक्रमका सहभागीले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला (वर्कसप), प्यानल छलफल, प्रतियोगिता र प्रदर्शनीमा सहभागी हुने अवसर पाउने आयोजकले जनाएको छ।
सनवे कलेजका प्रिन्सिपल खुशल रेग्मीका अनुसार रोबोटिक्स तथा ड्रोन वर्कसप कार्यक्रमको प्रमुख आकर्षण हुनेछ। यसमा सहभागीहरूले आधुनिक रोबोट र ड्रोन प्रविधिको प्रत्यक्ष अवलोकनसँगै प्रयोगात्मक अभ्यास गर्न सक्नेछन्।
त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको भाइब कोडिङ (Vibe Coding) वर्कसप तथा प्रतियोगिता पनि आयोजना गरिनेछ। यसमार्फत सहभागीहरूले एआई उपकरणको प्रयोग गरी छिटो, प्रभावकारी र सिर्जनात्मक रूपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर प्राप्त गर्नेछन्।
फेस्टमा ‘एआई इन जर्नालिजम’ र ‘फिजिकल एआई’ विषयमा प्यानल छलफल हुनेछ। साथै एआई फर प्रोडक्टिभिटी तथा एआई टक सिरिज अन्तर्गत बौद्धिक सम्पत्ति अधिकार (आईपी), डाटा गोपनीयता (प्राइभेसी) र स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग, सम्भावना तथा चुनौतीबारे विशेषज्ञबीच अन्तरक्रिया हुने जनाइएको छ।
आयोजकका अनुसार एआई एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन, फिनटेक एसोसिएसन तथा नामी लगायतका संस्थाको सहकार्यमा एआईसम्बन्धी विभिन्न सत्र र वर्कसप सञ्चालन गरिनेछन्।
विद्यार्थीहरूको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्न स्टुडेन्ट इनोभेसन शोकेस पनि आयोजना गरिनेछ। यसमा अन्तिम वर्षका परियोजना, पहिलो वर्षका नवीन अवधारणा, अनुसन्धान परियोजना तथा RAIN Project लगायतका नवप्रवर्तनात्मक कार्यहरू प्रदर्शन गरिनेछन्।
यस्तै, विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मक इन्टरभ्यु सत्र सञ्चालन हुनेछ। यसमार्फत सहभागीहरूले उद्योगका विज्ञसँग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकाससम्बन्धी सुझाव प्राप्त गर्न सक्नेछन्।
प्रविधिसँगै मनोरञ्जनलाई पनि प्राथमिकता दिइएको कार्यक्रममा विभिन्न फुड स्टल, इन्टरएक्टिभ गेम र फोटो बुथ लगायतका गतिविधि रहने आयोजकले जनाएको छ।
आयोजकले विद्यार्थी, प्रविधिप्रेमी, स्टार्टअप, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि तथा नवप्रवर्तनमा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुन पोस्टरमा रहेको क्यूआर कोड स्क्यान गरी अनलाइन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।