काठमाडौं । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले युवा, श्रम तथा रोजगार मन्त्रालयले मेला आयोजना गरेको हो।
मन्त्रालयका अनुसार मेला आगामी असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष रूपमा जोड्नु रहेको छ।
मेलाका क्रममा युवालाई उद्यमशीलताप्रति आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत सञ्चालन गरिनेछ।
यस्तै, मेला अवधिभर तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परीक्षण तथा सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रम तथा एकीकृत सूचना र परामर्श सेवा उपलब्ध गराइनेछ।
सरकारले चालू आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट सुरु गरेको यस मेलालाई क्रमशः देशका अन्य सबै प्रदेशमा विस्तार गर्ने जनाएको छ।