काठमाडौं । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीबीच बुधबार दोहास्थित लुसेल प्यालेसमा उच्चस्तरीय शिष्टाचार भेटवार्ता भएको छ।
कतारका पूर्वअमिर महामहिम शेख हमाद बिन खलिफा अल थानीको असामयिक निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो शोक तथा हार्दिक समवेदना व्यक्त गर्न उपराष्ट्रपति यादव कतार भ्रमणमा रहनुभएको हो।
भेटका क्रममा उपराष्ट्रपति यादवले कतारका अमिर, शाही परिवार तथा मित्रवत् कतारी जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो। साथै, उहाँले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट प्रेषित शोक तथा समवेदनापत्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई हस्तान्तरण गर्नुभएको थियो।
भेटवार्तामा नेपाली भ्रमण दलका सदस्यहरू तथा कतारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।