मन्त्री पोखरेल र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

hitkhabar.com


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ महामहिम राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपाल–चीनबीच शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटका क्रममा विद्यालयको भौतिक पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार, शैक्षिक संस्थाहरूको संस्थागत सुदृढीकरण लगायतका विषयमा चीन सरकारको सहयोगबारे विस्तृत कुराकानी भएको मन्त्रालयले जनाएको छ। साथै समसामयिक शैक्षिक मुद्दाहरूमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको छ।

मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा भइरहेको सुधार प्रयासबारे जानकारी दिँदै मित्रराष्ट्र चीनको सहयोगप्रति आभार व्यक्त गरेका थिए। जवाफमा राजदूत माओमिङले शिक्षा र प्रविधि क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्न चीन सकारात्मक रहेको बताएका छन्।

भेटले आगामी दिनमा दुई देशबीच शैक्षिक सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा सहमति जुटाएको जनाइएको छ।

प्रतिक्रिया