काठमाडौँ उपत्यकामा नदी किनारका जोखिमयुक्त बस्ती हटाउने अभियान जारी

hitkhabar.com


काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने अभियानलाई निरन्तरता दिएको छ।

हिजो बाँकी रहेका संरचनाहरू हटाउने कार्य आज पनि बिहानैदेखि सरकारी टोलीको उपस्थितिमा सञ्चालन भइरहेको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नं. ९ मनोहरा टोल क्षेत्रमा रहेका जोखिमयुक्त बस्तीहरू खाली गर्ने काम तीव्र पारिएको छ।

त्यहाँ रहेका बासिन्दाहरूलाई आफ्ना आवश्यक सरसामान सुरक्षित रूपमा निकाल्न सुरक्षाकर्मीहरूले सहयोग गरेका थिए। संरचना भत्काउनुअघि सामान हटाउने कार्य व्यवस्थित रूपमा गरिएको अधिकारीहरूले जनाएका छन्।

त्यसैगरी, उक्त क्षेत्रका संरचना हटाइसकेपछि बाँकी रहेका काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ र वडा नं. ३१ शान्तिनगर क्षेत्रका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने तयारी गरिएको छ।

यसअघि हिजो काठमाडौँ महानगरपालिका–११ थापाथली क्षेत्रको जग्गा शान्तिपूर्ण रूपमा खाली गरिएको थियो।

सरकारी तथ्याङ्क अनुसार हालसम्म २१४ परिवार सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा अस्थायी बसोबास तथा खानपानको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया