काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च भू-भागमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आज गर्मी बढ्ने र तातो दिन रहने अनुमान गरिएको छ।
आज राति पनि देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै अन्य हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा आउने यस्तो परिवर्तनका कारण विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।