पहाडी क्षेत्रमा वर्षा र चट्याङ्गको सम्भावना, तराईमा तातो बढ्ने

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। जसका कारण आज देशका विभिन्न भागमा मिश्रित मौसम रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। साथै मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तापक्रम बढ्ने सम्भावना रहेकाले तातो दिन महसुस हुने जनाइएको छ।

मौसमविद्हरूले चट्याङ्ग र वर्षाको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन तथा तातो बढ्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया