सम्पत्ति विवरण बुझाउन बाढी प्रभावित कर्मचारीलाई थप ३० दिनको समय

hitkhabar.com


काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई थप ३० दिनको समय दिइएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवन, ललितपुरले जारी गरेको जरुरी सूचनाअनुसार प्राकृतिक विपत्तिका कारण प्रभावित क्षेत्रमा कार्यरत रही सम्पत्ति विवरण पेश गर्न नसकेका तथा उद्धार एवं व्यवस्थापन कार्यमा खटिएका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकलाई यस्तो सुविधा दिइएको हो ।

सूचनामा रसुवा–भोटेकोशी बाढीका कारण नेपाल सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको र सो क्षेत्रमा कार्यरत राष्ट्रसेवकका लागि सम्पत्ति विवरण पेश गर्ने म्याद थप गरिएको उल्लेख छ ।

थप गरिएको अवधिअनुसार सम्बन्धित कर्मचारीले ३० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्नेछ । राष्ट्रिय किताबखानाले प्राकृतिक विपत्तिका कारण निर्धारित समयमा विवरण पेश गर्न नसकेको स्पष्ट कारण तथा व्यहोरा सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराई आधिकारिक सिफारिससहित विवरण पेश गर्न आग्रह गरेको छ ।

राष्ट्रिय किताबखानाले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित कर्मचारीलाई सम्पत्ति विवरण बुझाउने प्रक्रियामा सहजीकरण गर्न म्याद थप गरिएको जनाएको छ ।


प्रतिक्रिया