काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा चौधरी ग्रुपले गरेको छ।
चौधरी ग्रुप (CG) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स (X) मार्फत एक विज्ञप्ति प्रकाशित गर्दै उक्त घोषणा गरेका हुन्। उनले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सहिद परिवारका प्रत्येक एक सदस्यलाई रोजगारी दिने प्रतिवद्धता जनाएका छन्।
निर्वाणले लेखेका छन्, “आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।”
उनका अनुसार आन्दोलनका क्रममा कम्पनीका निजी निवास, कार्यालय, शोरूम र कारखानामा ठूलो क्षति पुगेको भए पनि चौधरी ग्रुप पुनःनिर्माणको यात्रामा दृढ आत्मविश्वासका साथ अघि बढ्दैछ।
उनले थप लेखेका छन्, “यो पीडादायी घडीमा पनि हामी सँगै उभिनेछौं, पुनःनिर्माण गर्नेछौं र आशा, सहानुभूति र सम्मानसहित देशको सुन्दर भविष्य निर्माण गर्नेछौं।”
रोजगारीका लागि सहिद परिवारका सदस्यहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्ने बताइएको छ। सम्पर्क नम्बर ९८५१२२४००० उपलब्ध गराइएको छ।