आज असार १५ : दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै

hitkhabar.com


काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिन । कृषिप्रधान देश नेपालमा यो दिनलाई धान रोपाइँ, किसानको श्रम, माटोप्रतिको माया र नेपाली मौलिक खानपानसँग जोडेर विशेष रूपमा मनाउने गरिन्छ ।

असार महिना सुरु भएसँगै देशका धेरै स्थानमा रोपाइँको चहलपहल बढ्ने गर्छ । आकाशमा कालो बादल, खेतमा पानी, हिलोमा रमाइरहेका किसान र हरियालीले भरिँदै गएको गाउँघरले असारको मौलिक पहिचान झल्काउँछ । किसानका लागि असार केवल महिना मात्र होइन, वर्षभरि अन्न उत्पादन गर्ने महत्वपूर्ण समय पनि हो ।

यस दिन किसानहरू खेतमा धान रोपाइँ गर्दै रमाइलो गर्ने गर्छन् । खेतमा काम गर्ने खेतालालाई खाजा पुर्‍याउने, हिलोमा रमाउने र एकआपसमा शुभकामना साटासाट गर्ने चलन अझै पनि गाउँघरमा जीवित छ । तराई क्षेत्रमा खेतमा काम गर्नेहरूलाई लगिने खाजालाई ‘जलखाई’ भन्ने चलन छ । कतिपय स्थानमा खेतधनी स्वयं खेतमा पुगेमा रमाइलो गर्दै हिलो छ्याप्ने परम्परा पनि पाइन्छ ।

असार १५ को अर्को विशेष पक्ष भनेको दहीचिउरा खाने परम्परा हो । रोपाइँको व्यस्तता बीच दही, चिउरा, आँप लगायतका परिकार खाएर यो दिन मनाइन्छ । दहीचिउरा नेपाली जीवनशैली, कृषि संस्कृति र मौलिक खानपानको प्रतीकका रूपमा स्थापित छ ।

घरमै जमाएको दही, कुटेको चिउरा र मौसमअनुसारका फलफूलसँग असार १५ मनाउने परम्पराले नेपाली समाजलाई माटो, श्रम र प्रकृतिसँग नजिक बनाउँदै आएको छ । यो दिनले किसानको पसिना र परिश्रमको सम्मान गर्नुपर्ने सन्देश पनि दिन्छ ।

असारको झरीले खेत हरियाली बनाओस्, धानको बिउँसँगै सद्भाव, माया र आशाको बीउ पनि रोपियोस् भन्ने शुभकामनासहित देशभर आज राष्ट्रिय धान दिवस मनाइँदैछ ।


प्रतिक्रिया