काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘महाराजधिराज’ मा अभिनेत्री पूजना प्रधान अनुबन्ध भएकी छन्। चलचित्रको छायांकन जारी रहेका बेला निर्माण पक्षले उनको सहभागिताबारे जानकारी दिएको हो।
सोमबार चलचित्रको ३३औँ दिनको छायांकन भइरहेका क्रममा निर्माण टिमले पूजनालाई चलचित्रमा आबद्ध गरिएको जनाएको छ। चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले एक सक्षम कलाकारको खोजीमा रहेको र त्यसका लागि पूजना प्रधानलाई अनुबन्ध गरिएको बताएका छन्। उनले पूजनाको आगमनले चलचित्रको टोली अझ सशक्त बनेको उल्लेख गरे।
‘महाराजधिराज’को छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भएको थियो। हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ भने भक्तपुरमा पनि यसका केही दृश्य खिचिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन तालिका ७० दिनको रहेको छ।
परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन्। निर्देशक सेनका अनुसार यो चलचित्र सोसल पिरियड ड्रामामा आधारित रहेको छ। चलचित्रको कथा तथा लेखन पनि सेन स्वयंले गरेका छन्।
चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र सुशील सिटौलासहित ठूलो कलाकार टोलीको अभिनय रहनेछ।
यसका साथै नीर शाह, विशाल पहाडी, आशा पौडेल, हिउवाला गौतम, प्रिया रिजाल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी, कमल देवकोटा लगायतका कलाकार पनि चलचित्रमा देखिनेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट रहेका छन्। ८० जना कलाकारको अभिनय रहने यो चलचित्रप्रति दर्शकमाझ चासो बढ्दै गएको निर्माण पक्षको अपेक्षा छ।