काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब तथा सुविधामा वृद्धि गर्ने घोषणा गरेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा कुल २१ प्रतिशतसम्म वृद्धि गरिने जानकारी दिएका हुन्।
घोषणाअनुसार १० प्रतिशत वृद्धि आधारभूत तलब (सुरु स्केल) मा समायोजन गरिनेछ भने थप १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ। हाल प्रदान हुँदै आएको महँगी भत्ता भने यथावत् रहने जनाइएको छ।
बढेको तलबमान आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ। नयाँ व्यवस्थाअनुसार कर्मचारीले ग्रेडसहित मासिक करिब ४० हजार रुपैयाँदेखि १ लाख रुपैयाँभन्दा बढीसम्म पारिश्रमिक प्राप्त गर्नेछन्।
अर्थमन्त्री वाग्लेले विगत चार वर्षदेखि कर्मचारीको तलब पुनरावलोकन नभएको उल्लेख गर्दै यस अवधिमा उपभोक्ता मूल्यवृद्धि दर (महँगी) करिब १७.३ प्रतिशत पुगेको बताए। सोही आधारमा कर्मचारीको आयस्तर सुधार गर्न तलब वृद्धि गरिएको सरकारको भनाइ छ।