काठमाडौँ । युवा उद्यमशीलता, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा जोड दिने उद्देश्यसहित आज राजधानीमा ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदैछ ।
युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमै अवसर सिर्जना, बौद्धिक पलायन रोक्ने तथा प्राज्ञिक विकासमा टेवा पुर्याउने अपेक्षा राखिएको छ ।
कार्यक्रम संयोजक राजु टण्डनका अनुसार, उक्त सम्मेलन विद्यार्थीलाई सही करियरको बाटो देखाउने, आशाजनक स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, सामाजिक संलग्नता बढाउने र परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तन ल्याउन सहयोगी हुनेछ ।
आज बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सुरू हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथि हुनेछन् । करिब पाँच हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको उक्त कार्यक्रम कलेजहरूले आयोजना गरेको सबैभन्दा ठूलो नेतृत्व मञ्च हुने बताइएको छ ।
कार्यक्रममा गीत–संगीत, हास्यव्यङ्ग्यसँगै ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, अनुभव र प्रेरणादायी विचार प्रस्तुत गर्नेछन् । यस अवसरमा केवाइसी–२०२५ युथ आइकनबाट सिसन बानियालाई सम्मान गरिने छ भने एम.एम.ए खेलाडी रविन्द्र ढाँट गेस्ट अफ अनरका रूपमा सहभागी हुनेछन् । चर्चित गायक दुर्गेश थापालाई ‘परफर्मर अफ द इयर’ उपाधि प्रदान गरिने आयोजकले जनाएको छ ।
वि.सं. २०७६ सालदेखि सुरु गरिएको कन्क्लेभको यो छैटौं संस्करण हो । कार्यक्रममार्फत विद्यार्थीलाई देशमै अवसर खोज्न प्रेरित गर्ने र स्वदेशमै सम्भावनाहरू प्रशस्तै रहेको सन्देश दिने आयोजकको भनाइ छ ।